वाइबा राजा र डब्ज्याङजोङ दरबार

धादिङ जिल्लाको उत्तरी भेगमा रहेको सेम्जोङ गाउँ विकास समितिमा रहेको वाइबा राजाको डब्ज्याङजोङ दरबारको इतिहास किताब वा इतिहासको..............
पानामा भेटिंदैन । तर यस वाइबा राजा र डब्ज्याङजोङ दरबारले बेग्लै किसिमको ईतिहास बोकेको छ । हुन त हाम्रो मुलुकको पहाडी भेगहरुमा यस्तो किसिमको ऐतिहासिक स्थानहरु नभएको होइन तर कसैले पहिचान गरे पनि संरक्षणको अभावमा परेको छ । यस डब्ज्याङजोङ दरबारको निर्माण वि.सं. ४००-५०० तिर राजा तागुर र रानी सिलीङमोले गर्नुभएको प्रमाण यस क्षेत्रमा रहेको शिलालेखबाट थाहा हुन्छ । त्यसबेला यस वाइबा राजाको राज्यमा क्षेत्री बाहुनहरुको बसोबास नभएको देखिन्छ...........................................
। वाइबा राज्यमा सबै तामाङहरु मात्र भएको र उनीहरु कृषी नगरी वन्यजन्तुको शिकार गर्ने तथा जंगलमा गिठा भ्यागुर खोज्ने र आफ्नो राजालाई शिकार गर्न वन्यजन्तुहरु जंगलबाट छेकेर दरबारको वरीपरी ल्याईदिने गर्थ्यो । राजाले जनवारलाई मारेपछि सबै राजा र प्रजा मिलेर रमाइलो गर्ने गर्थ्यो ।


एकदिन राजा रानी दरबारको पश्चिमको जंगलमा शिकार खेल्न जाँदा राजाले धादिङको सल्यानटार फाँटमा चरिरहेको गाइगोरुहरुको हुल देखेछ । त्यसपछि राजाले गाईगोरुहरुको हुलमा आफ्नो अति शक्तिशाली वललाई केन्द्रित गर्दै वाण प्रहार गराए र ती वाण उक्त गाई गोरुलाई लागेछ । वाणको कारण गाई गोरु घाइते भएपछि गोठालाहरुमा आश्चर्य बढ्यो र सोध खोज गर्न थाल्यो र वाण कस्ले हान्यो भनेर गोठालाहरु बुद्घिमता अपनाउँदै ढलेको गोरुको छेउमा लुकेर बसेछ । यता शिकारी राजा रानी आफ्नो वाणले शिकार ढलेको यकीन भएपछि दुवै जना शिकार नजिक पुग्दा गोरु पल्टिरहेको देखेछ । त्यसपछि रानी सिलीमोङले आफ्नो घलेक फुकाली वरीया बनाई आफ्नो शक्ति प्रयोग गरी गोरुलाई बोक्नुभएछ र राजा तागुरले रुखको हाँगा भाँचेर आफ्नो पाइला मेट्दै दरबार तिर लिएर आएछ । तर राजा र रानीलाई के थाहा आफ्नो पछि-पछि ती चलाख गोठालाहरु आएको । आखिरी गोठालाहरुले गोरु मार्ने पत्ता लगाई छाडे । त्यसपछि बाहुनहरु (ज्यार्दी) ले गोरु मारी खाएको अभियोगमा मुद्दा हालेछ । अदालतले गोरु मारी खाएको हो की होइन भनी वयान दिन वाइबा राजालाई अदालत बोलाएछ । अदालतमा राजाले वयान दिए, वयानको क्रममा आफुले गोरुलाई लक्षित गरी वाण हानेको र गोरुको मासु पनि खाएको हो तर मुखले मासु खाए पनि आाखाले नदेखेको र हातले पनि नछोई चिम्टाले च्यापेर खाएको वयान दिए । त्यसपछि बाहुनहरुसंग लडाई शुरु भएछ । तर शक्तिशाली वाइबा राजाको अगाडी बाहुनहरुको केही सीप लागेन । त्यसपछि ज्यार्दीहरुले षडयन्त्र रचे । योजनाबद्घ षडयन्त्र अनुरुप सम्झौताको योजना बनाए । सम्झौता मुताबिक दुवैतर्फबाट बिना हतियार सम्झौता गर्ने ठाउँमा उपस्थित हुने खबर वाइबा राजाको दरबारमा पठायो । तर ती सोझा राजालाई के थाहा उता ज्यार्दीहरुले आफुमाथि षडयन्त्र रच्दैछ भनेर त्यसपछि दुवैतर्फ सन्धि सम्झौता गर्ने सर्तमा ज्यार्दीहरुले सन्धि गर्ने स्थान हृयावेङ खोला तोक्यो । तोकिएको स्थानमा सन्धि हुने पक्का भएपछि चलाख ज्यार्दीहरुले खाफरलाई आवश्यक पर्ने सम्पुर्ण हतियार हृयावेङ खोलाको वालुवामुनि लुकाई राखे । यता सोझा वाइबा राजा भने विना हात हतियार सम्झौता गर्न जुटेका थिए । वाइबा राजा तागुरले सम्झौतामा राजाको प्रतिनीधिको रुपमा आफ्ना चार राजकुमारहरुलाई खटाई सकेको छ । तर रानी सिलीङमो भने यस सम्झोतामा राजी थिएन कारण बाहुनहरु चलाख र षडयन्त्रकारी हुन्छन् । विना हात हतियार सम्झौता स्थान जानुहुदैन भन्ने रानीको तर्क थियो । तर रानीको कुरामा कसैले पनि वास्ता नगरी राजाको आज्ञा बमोजिम चार भाई राजकुमारहरु र वाइबा राज्यका जनताहरु सम्झौता स्थानतर्फ प्रस्थान गरे । राजकुमार गोम्बोले भने आफ्नो आमाको कुरालाई सही मानी आफ्नो हतियार धनुष वाण दाजु र बाबुले नदेख्ने गरी लुकाई छिपाई बोकेको थियो । दाजुहरुलाई भने गोम्बोले हतियार बोकेको थाहा थिएन । जब सबै राजकुमार र जनताहरु वार्ता स्थल पुगे तब षडयन्त्रकारी बाहुनहरुले आफुले लुकाई छिपाई राखेको हतियार निकाली विना हतियार सम्झौता गर्न गएका वाइबा राजाका राजकुमार र जनतालाई मुला काटे झैं काटिए । राजकुमार तथा जनताको रगतले हृयावेङ खोलाको ढुंगा माटो र पानी पुरै रातो भयो। तर चलाख राजकुमार गोम्बो भने त्यस भयानक षडयन्त्रबाट भाग्न सफल भयो । आफुले लुकाई लगेको धनुष वाणले बुढी गण्डकीमा पुल बनाई पार गरेर राजकुमारलाई डुंगाबाट शत्रु आइरहेको देखेपछि धनुष वाणले डुंगालाई त्यही दुई टुक्रा पारेर भाग्न सफल भए । यिनै वाइबा राजाका राजकुमार गोम्बोको सन्तान नै पछि गुरुङ भएको इतिहास डब्ज्याङजोङ दरबारको शिलालेखमा उल्लेख गरिएको छ । साथै वाइबा राजकुमार गोम्बोको नाम नै अपभ्रंश भई गुरुङ भएको भन्ने त्यहाँका बुढापाकाहरुको कथन रहेको छ । साथै रीतिरिवाज र धनुष वाणको कथासंग मेल खाएको पनि स्थानीवासीहरुको कथन छ र अहिले पनि त्यहाँका वासिन्दाहरु विश्वास गर्ने गर्छन् । यता राजकुमार गोम्बोका दाजु र जनता भने हृयावेङ खोलामा रगतको खोला बगाएर सखाप भईसकेका थिए । केही जनता त्यस चक्रव्युहबाट भाग्न सफल भएका थिए । बचेका जनताहरु दरबार आएर राजालाई लडाँईको सम्पुर्ण खबर सुनाए । "हामी सबै जना ज्यार्दीहरुको चक्रव्युहमा फस्यौं र सम्पुर्ण राजकुमारको एउटै चिहान बनायो । अब हामी यहाँ बस्नु हुदैन हाम्रो पछि शत्रुहरु आइरहेकोछ अब बाँकी रहेको जनता तथा राजा रानीको सुरक्षाको लागी यहाँबाट अन्तै भाग्नुपर्छ " भन्दै राजालाई सल्लाह दिए । त्यसपछि रानीले एक हजार टपरीमा दालभात लटपटाई शत्रु आउने बाटोतिर फालीदिए । रानी आफु पनि विभिन्न भेषमा प्रत्येक झ्यालबाट पालै पालो शत्रुहरुको चियो गर्न थाले । रानीको त्यो चालदेखी शत्रुहरु पनि डराएर दरवारमा हमला नगरी भागे । वाइबा राजा तागुरले आफ्नो चार राजकुमार शत्रुको षडयन्त्रमा गुमाएपछि आफ्नी गर्भवती श्रीमती बुहारी, रानी सिलीमोङ तथा बचेका जनतासहित राज्यको पुर्वतिर छ्वापर्माजोङ लाग्नुभएछ । वर्माचेत जोङ, फोका जोङ, सिङला जोङ, गर्चा जोङ, मिक्ली जोङ हुदैं अन्तमा उर्वाङ जोङसम्म बसाई सर्ने क्रममा मिक्ली जोङमा बसेको समयमा विधवा बुहारीलाई पुत्रलाभ भयो । त्यही ठाँउमा सुत्केरी राजकुमारीबाट आफ्ना स्वर्गीय पतिको सम्झना तथा आफ्नो कोखबाट छोरा जन्मिएको उपदक्ष्यमा ठडाएको ढुंगा पनि स-प्रमाण बनेर रहेको छ ।

आफ्नो विधुवा बुहारीबाट नातीको जन्म भएपछि वाइवा राजा तागुरलाई केही मात्रमा राहत मिलेको थियो । त्यसपछि आफ्नो परिवार सहित हाल गौर गाउँ भएको ठाउँमा बसाई सर्नुभयो सो बसाई सर्ने बेलामा छोराहरुको सम्झनामा र नातीको जन्म भएको उपलक्ष्यमा मिक्लीजोङ र उर्वाङजोङको वीचमा एउटा मानें (छोर्तेन) बनाउनुभएको रहेछ तर सो मानेंको टुप्पा नभएको र नाम पनि रुलुम माने नामाकरण गरेको रहेछ । सो मानें अहिले पनि देख्न सकिन्छ । समय व्यतित गर्ने सवालमा तागुर राजालाई गैर गाउं भन्ने ठाउँमा पनि निकै संघर्ष गर्नुपरेको रहेछ । यस ठाउँमा पनि ज्यार्दिहरुले निकै दुःख दिने गरेको र आफुले पर्वते (खस्) भाषा बोल्न नजानेको हुँदा उनीहरुले हामी यस ठाउँमा पुस्तौंदेखी बस्दै आएको अरु मानिस यहाँ बस्न पाउने छैन भनि दुःख दिने गरेकोले शिकार खेल्ने बेलामा दङ्सिङ भन्ने ठाउँको वाइबा राजासंग मित लगाएको र उनीहरु पर्वते भाषा बोल्ने भएकोले राजा तागुरले आफ्नो समस्या समाधान गर्न मितको सहयोगमा ज्यार्दीहरुसंग मुद्दा लड्न थाले । यसरी वाइबा राजाले मितेरी सहगोग पाएर ज्यार्दी विरुद्द संघर्ष गर्न थाले । सो क्रममा जस्को पुरानो मानें छ उसैको यस ठाँउमा बस्ने अधिकार छ भनि वाचा गरियो यसै वाचा वमोजिम आफ्नो तरिकाबाट मानें (छोर्तेन) बनाए तर ज्यार्दीहरुले पुरा ताछेर चिटिक्क बनाएछ । यता वाइबा राजा र राजाको मितले ढुंगा निकाली मानें बनाउँदा बाहिरको बाहिर भित्रको भित्रै मिलाएर बनाएछ । अनि कस्को मानें पुरानो छ भनि जाँच गर्दा ज्यार्दीहरुको नयाँ र वाइबा राजाको पुरानो भएको ठहर गरीयो सोही मानेंको आधारमा वाइबा राजाहरुले हालको धादिङको गैर गाउँमा बसोवास गर्न पाएपछि आफ्नो मितलाई भेडा काटी भोज ख्वाई मितलाई पनि यसै गाउँमा सधैंको लागी बस्न आग्रह गर्नुभएको थियो । मितको अनुरोधलाई स्वीकार गर्दै दाङ्सिङको वाइबा राजा पनि गैर गाउँमा बस्न थाले । सोही समयदेखि भेडा काटी भोज गर्ने चलन अहिलेसम्म पनि यथावतै छ । प्रत्येक बडादशैंको अष्टमीको दिन बिहान वाइबा राजाहरुको घरमा भेडा काटी भोज गरेर मात्र मौलाको पूजा गर्ने चलन छ । वाइबा राजाको नाती राजकुमार छेवाङका पनि आठ भाई छोरा र एक छोरीको जन्म भयो, राजा रानी (हजुर बाबा /हजुरआमा) को निधन भएपछि राजकुमार छेवाङले आफ्नो बाजेको पुरानो राजदरबार डब्जाङजोङबाट केही पुर्वमा बाजे बज्यैको सम्झनामा दुईवटा मानेंहरु बनाउनुभएको रहेछ । सो माने अहिले पनि देख्न सकिन्छ । र छेवाङले पनि आफ्नो निधनपछि मानें बनाउनुपर्छ भनि छोरा छोरीलाई भनेको हुँदा छोरा छोरीहरुले आफ्नो बुवाको सम्झनामा मानें बनाउनुभयो । सो मानें बनाउनको लागी प्रत्येक छोराछोरीको तर्फबाट एक / एक मुरी धान भुटेको फुल, मकैको फुल, लट्टेको फुल गरी जम्मा नौ/नौ मुरी र दुध एक / एक पाथी गरी नौ पाथी, त्यस्तै गरी दही, नौनी घ्यु, रक्सी, जाँड नौ/नौ पाथी जम्मा गरी होमा नामको मानें बनाउनुभयो । सो होमा मानेंमा प्रत्येक १२ वर्षमा मेला लाग्ने गर्दछ । यो होमा मानें बनाउनको लागी वाइवा राजाको रगतले रंगिएको हृयावेङ खोलाको ढुंगा लिएर बनाएको भन्ने त्यहाँका बुढापाकाहरुको भनाई रहेकोछ । अहिले पनि सो मानेंको ढुंगा टुटफुट भएमा वा मानेंमा भएको पाँच वटा बुद्घको मुर्तिहरु टुट्फुट भएमा वाइबाहरुको ज्वाँई -चेलाको उपस्थितिमा हृयावेङ खोलाको ढुंगा ल्याएर मर्मत गर्ने गरिन्छ । यस गैर गाउँमा अर्को रमाइलो कुरा के छ भने प्रत्येक बडादशैंको टिकाको दिन वाइबा राजाको शिकार खेल्ने चलनलाई साक्षी राख्न धनुष वाणबाट शिकार खेल्ने गरिन्छ । यो खेलमा एक व्यक्तीलाई कुकुरको रोल दिइन्छ भने गाउंको मुखियाले राजाको खेलेको हुन्छ । गाउँका युवाहरुले जनताको रोलमा मृग, हरिण जस्ता वन्यजन्तुको सट्टा फर्सी ल्याई राख्ने गरिन्छ र शिकारीहरु कुकुरलाई लिएर राजाको घरबाट शिकार खेल्न निस्कन्छ । यसमा सत्य कुरा के छ भने वाइबा राजाको पालामा राजाले प्रयोग गर्ने गरेका वज्रवाणलाई पनि शिकार खेल्ने ठाँउसम्म लाने गरिन्छ । सो वाणबाट मारिएको शिकारको मासुको रुपमा प्रत्येक घरघरमा फर्सिको टुक्रा पठाउने गरिन्छ। त्यस पछाडी गाउँको सबै जम्मा भएर हालको गाउँको मुखियाको घरको आँगनमा रातभरि रमाइलो गर्ने गर्छ र पृथ्वीको उत्पतीदेखी हालसम्मको कथा सुनाउँदै मानें नाच्ने चलन छ ।

यस वाइबा राजाको दरवार क्षेत्रमा डब्ज्याङजोङमा अहिले हेर्न लायक वस्तुहरुमा यस प्रकार छन्:
(१) ढुंगाको ओखल,
(२) ढुंगाको ढिकी,
(३) जाँतोको पिंधबाट लालीगुराँस फुलको रुख-सो रुखले जाँतोलाई तीस फिट माथि उचालेको छ ।
(४) त्यस ईलाकाको प्रत्येक ढुंगामा ॐ मानें पद्मे हुँ लेखेको शिलालेखहरु ।
(५) सुत्केरीले उठाएको करिब पचास टनको ढुंगा आदि ।

वाइवा राजाको वंशजको नाम यसप्रकार छ:
वाइबा राजा तागुर
रानी सिलिमोङ्ग
राजकुमारहरु:
ओम्वा, नब्वो, तिर्थ र गोम्बो
राजकुमारी:
सत्यावती र सत्यावतीका छोरा छेवाङ्ग र छेवाङ्गका आठ भाई छोराहरु ।
आठ भाई छोराहरु मध्ये एक भाई धादिङको दर्खामा र अर्को एक भाई नुवाकोटको दोलेवमा गई आफ्नो प्रभुत्व जमाएको बुढापाकाहरुको भनाई रहेको छ । बाँकी छ भाई हालको गौर गाउँमा आफ्नो थलो बनाएर बसेको किंवदन्ती छ ।

नोट: - यस कथामा उल्लेख गरिएका बुदाँहरु सेम्जोङ्ग गा.वि.स.का बुढापाकाहरुको भनाई र यस ठाउँमा भएको वस्तुहरुमा आधारित रहेको छ ।                                       
                                                                                                                            दल बहादुर तामाङ
                                                                                                                           सेम्जोङ-२, धादिङ

No comments:

Post a Comment